एस पी रमेश खरेलको पौरख
वीरगन्जको माईस्थान चोकमा भएको अभिनन्दन समारोहमा सयौंको संख्यामा पर्सावासी भेला भएका थिए । मधेसको ‘गम्छा’ ओढाएर उनलाई सम्मान गरेका थिए । जिल्लामा एसपी खरेलभन्दा पहिले ४७ जना प्रहरी प्रमुखले कार्यभार सम्हाले पनि कसैले पनि यस्तो सम्मान पाएका थिएनन् । वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएकामा बधाई दिँदै नारायणी अञ्चलमै एसएसपी बनाएर राख्न सरकारसँग माग गरेका थिए । एसपी खरेलले आफूले जिम्मेवारीवाहेक अन्य काम नगरेको बताए । ‘प्रहरीको जागिर खाँदा लिएको कसम पूरामात्र गरेको हुँ,’ उनले भने, ‘बिरालोले मुसा मार्दैमा बहादुर हुँदैन ।’ जनतामाझ प्रहरीको गुमेको विश्वास फिर्ता भएको पाएको छु । उनले भने, ‘यो नै मेरो उपलब्धि हो ।’
खरेललाई सञ्चार माध्यमले हिरो बनाइदिएको टिप्पणी गर्ने प्रहरी अधिकृतको जमात ठूलो छ । तर, यहाँका बासिन्दा उनलाई साँच्चिकै हिरो मान्छन् । वीरगन्ज पुगेदेखि उनको तुलना तीन वटा हिन्दी फिल्मका हिरोसँग गरिएको थियो, गंगाजल, नायक र सिंघम । खरेलको छवि निर्माणमा बाहिरी कामका साथै आफ्नो टिमभित्रैको सुधारको पनि ठूलो भूमिका छ । उनले सार्वजनिक कार्यक्रममा प्रहरीले घूस खाएको देखिए तत्काल खबर गर्न आफ्नो मोबाइल नम्बर नै दिने गरेका थिए । २ सइ ६ असइसहित ५८ प्रहरीलाई कारबाही गरेका छन् । कारबाहीमा घटुवा, नसिहत र ग्रेड रोक्काको सजाय तिनले पाएका छन् । ३ जना जागिरबाटै बर्खास्त भएका छन् । खरेल आएपछि शान्ति सुव्यवस्थामा सुधार र चोरी पैठारी नियन्त्रण आश्चर्यजनक बनेको थियो । खरेलको कार्यकालमा छोटी भन्सारको राजस्व संकलन अत्यधिक वृद्धि भएको थियो । महिनामा मुस्किलले २ लाख रुपैयाँ संकलन हुने जानकीटोल छोटी भन्सारमा ७० लाखदेखि ७५ लाख रुपैयाँ संकलन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षा मर्यादित हुन थालेका छन्, नारायणी यातायात व्यवस्था कार्यालयबाट वितरण हुने लाइसेन्समा ९० प्रतिशत फेल भएका छन् । यसअघि शतप्रतिशत उत्तीर्ण हुन्थे ।
No comments:
Post a Comment