एस पी रमेश खरेलको पौरख
उनी आए र छोटो कार्यकालमै पर्सावासीको मन जिते । १० महिनाको आफ्नो छोटो कार्यकालमा प्रहरी उपरीक्षक रमेश खरेलले शान्तिसुरक्षा कायम राख्न तथा अपराध र तस्करीविरुद्ध थालेको अभियानले स्कुले विद्यार्थीदेखि उनका अभिभावकसमेत एसपी खरेलका समर्थक भए । ‘अन्याय, आपत र कष्टमा परेकाको उद्धारका लागि उनले देखाएको तत्परताले छोटो अवधिमै उनी सबैको मन जित्न सफल बने,’ नागरिक समाजले गरेको अभिनन्दन समारोहमा डा. श्यामसुन्दर दासले भने, ‘उनी सबै मनका ढुकढुकी बनेका छन् ।’ चौबीसै घन्टा फोनमा उनको उपलब्धता, प्रहरीभित्रको भ्रष्टाचार नियन्त्रण हुनुका साथै तस्करी, अपराध र गुन्डागर्दीविरुद्ध अभियानलाई जनताले सराहना गरेका थिए ।