Monday, September 5, 2011

मुसा पसेपछि काठमाडौँबाट ब्याङ्कक उड्न ठीक्क परेको जहाज रोकियो

काठमाडौँ, भदौ १९,  
एक सय ३३ यात्रु बोकेर ब्याङ्कक उड्न ठीक्क परेको नेपाल वायुसेवा निगमको बोइङ ७५७ नाइन एन- एसीबी जहाजमा एउटा मुसा पसेपछि उडान रद्द भएको छ। 
बिहान नौ बजे उड्न लागेको जहाजमा पसेको मुसा डेढ घण्टा खोज्दासमेत नभेट्टिएपछि ग्राउन्डेड गरिएको छ। निगमको हाल सञ्चालनमा रहेको एउटै मात्र जहाज ग्राउन्डेड भएपछि अब ऊसँग अन्तर्राष्ट्रिय उडानका लागि कुनै विमान छैन। निगमको अर्को बोइङ बनाउन तीन हप्तका लागि इजरायल पुगेको छ।

विमान क्याप्टेनद्वय रवीन्द्रकुमार शेरचन र युवराजकुमार भट्टराईले उडाउन लागेका थिए। यही विमान ब्याङ्ककबाट फर्किएपछि आजै साँझ मलेसिया जाँदै थियो। मुसा नभेटिए मलेसियाको उडानसमेत प्रभावित हुने भएको छ।
'विमान उडाउन तयार थियौँ, खाना ओसार्ने ट्रेबाट मुसा फुत्त निस्केर विमानको पछाडि भागमा पसेर कता भाग्यो कता', क्याप्टेन रवीन्द्रकुमार शेरचनले नागरिकन्युजलाई बताए।
'मुसा नभेट्टाएसम्म जहाज उडाउन मिल्दैन। मुसा मार्न विष प्रयोग गर्न नपाइने भएकोले पासो थापेर राखेका छौँ', अर्का क्याप्टेन युवराजकुमार भट्टराईले जानकारी दिए।
विमानलाई अहिले ह्याङ्गरमा ल्याइएको छ।
यसअघि गत साउन ३१ मा  स्वीडेनको स्टकहोमबाट अमेरिकाको सिकागो जान लागेको जहाजमा मुसा देखिएपछि  एसएएस एयरलाइन्सको विमान ३६ घण्टासम्म रोकिएको थियो।
(extracted from The Nagarik Daily)

No comments:

Post a Comment